Share this news.

काभ्रे जिल्लाको पनौती नगरपालिका–६, नमोबुद्ध रोडमा मुख्य कार्यालय रहेको ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ। संस्थाले काभ्रेका ११ स्थानीय तहमा रहेका आठवटा सदस्य सेवा केन्द्रमार्फत वित्तीय सेवा दिँदै आएको छ।
२०८३ कार्तिक २६ गतेदेखि विभिन्न छ वटा एकाइ केन्द्रहरूमा सुरु भएका एकाइ साधारण सभाहरू कार्तिक ३० गते मुख्य कार्यालयमा एकाइ प्रतिनिधिहरूको उपस्थितिमा निर्णय प्रमाणीकरणसहित टुंगिएका थिए।
अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा बसेको सभामा सञ्चालक समितिका सचिव बुद्ध सिंह थापाले वार्षिक प्रगति प्रतिवेदन तथा आगामी नीति र कार्यक्रम, कोषाध्यक्ष पूर्णराम तुलाधरले आर्थिक प्रतिवेदनसहित वार्षिक बजेट तथा कार्यक्रम र लेखा सुपरिवेक्षण समिति संयोजक भिमसेन के.सी.ले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए।
प्रतिवेदनअनुसार संस्थामा हाल २१ हजार ९ सय ९१ शेयर सदस्य र २ हजार ३ सय ६० बाल बचतकर्ता गरी जम्मा २४ हजार ३ सय ५१ सदस्य आबद्ध छन्। आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म संस्थाको शेयर पूँजी ११ करोड २७ लाख ७५ हजार ३ सय रुपैयाँ, कुल बचत निक्षेप १ अर्ब २१ करोड ४२ लाख ३७ हजार ३ सय ३६ रुपैयाँ ४९ पैसा र कुल ऋण लगानी १ अर्ब १२ लाख ३४ हजार ५ सय १९ रुपैयाँ ४० पैसा पुगेको छ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट बचत तथा ऋणको मुख्य कारोबार गर्ने इजाजतपत्र प्राप्त गरेको यस संस्थाले फिन प्लस सफ्टवेयरमार्फत मोबाइल बैंकिङ, डिजिटल क्यूआर कोड, एसएमएस र ट्याब बैंकिङ जस्ता सेवा विस्तार गरी सदस्यहरूलाई घरदैलोमै नगदरहित कारोबारको सुविधा उपलब्ध गराउँदै आएको छ।
वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिएको संस्थाले ‘कोखदेखि शोकसम्म ज्योमिसा’ नाराअन्तर्गत समीक्षा वर्षमा स्वास्थ्य उपचार राहत, सदस्य तथा परिवारको मृत्यु राहत, गर्भवती पोषण सहयोग, जेष्ठ नागरिक तथा अपाङ्ग सदस्य भत्ता, बालबालिका जन्मोत्सव र प्राकृतिक प्रकोप पीडित राहत लगायतका आठ शीर्षकमा करिब ४० लाख ५२ हजार रुपैयाँ वितरण गरेको छ।
आर्थिक वर्ष २०८३/८४ मा कम्तीमा ६० प्रतिशत सदस्यलाई समेट्दै वित्तीय साक्षरता वर्ष मनाउने, युवा केन्द्रित स्टार्टअप तथा उद्यमशीलता प्रवर्द्धन गर्ने, विद्यालय तहसम्म नैतिक तथा सहकारी शिक्षा विस्तार गर्ने र सम्पूर्ण कारोबारलाई पूर्ण डिजिटल प्लेटफर्ममा आबद्ध गर्ने योजनासहित सभाले प्रस्तुत सबै प्रतिवेदन तथा प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। सभामा कुल सदस्यको ७०.०३ प्रतिशत उपस्थिति रहेको थियो।




