ज्योति मिर्मिरे सामूहिक साकोसको ६ स्थानमा एकाई सभा मार्फत २४ औ वार्षिक साधारण सभा सम्पन्न,

   

ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी सस्था लिमिटेडले बुधबार २४ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा आयोजित सभामा पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले सहकारीहरु सहकारीको ऐन नियम र कानुन अनुसार सञ्चालन भएकाहरुमा कुनै समस्या नभएको बताए । व्यक्तिगत रुपमा सञ्चालन भएका सहकारीहरुमा समस्या आएको उनको भनाई थियो ।

पनौती नगरपालिकाले नगरपालिकाको सहकारी ऐन अन्तर्गत सञ्चालन नभएका सहकारीहरुलाई कार्वाहीको प्रक्रियामा गएको, अनुगमनलाई तीव्र बनाएको भण्डारीले बताए । सहकारीहरुले सदस्यहरुको आय स्तर उकास्न र सिपमूलक कार्यमा लगाउन पर्ने र नगरपालिकाको तर्फबाट सहकार्य गर्दै अगाडी बढ्ने भण्डारीले बताए ।

संस्थाका अध्यक्ष उद्धव सापकोटाले सहकारी मार्फत सदस्यहरुको आर्थिक सामाजिक र साँस्कृतिक उन्नयनको परिकल्पना गरेको बताए । सहकारीलाई आफ्नो नीजि ब्यबसाय सरह मान्ने केही सहकारीका सञ्चालक र व्यवस्थापनका कारण बचतकर्ताहरुले आफूले राखेको बचत फिर्ता पाउन नसक्नाले सहकारी क्षेत्रकै बदनाम हुन पुगेको सापकोटाले गुनासो गरे । ज्योति मिर्मिरे साकोस बागमती प्रदेशमा नै उत्कृष्ट सहकारी भएकाले ढुक्कसँग सदस्यहरुलाई कारोबार गर्न आग्रह गरे ।

कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०७९/२०८० को वार्षिक प्रतिवेदन सचिब बुद्ध सिंह थापाले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष पूर्णराम तुलाधरले प्रस्तुत गरेका थिए । लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक भीमसेन केसीले प्रस्तुत गरेका थिए ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले संस्थाले विभिन्न सामाजिक क्रियाकलपाहरु गर्दै आएको बताए । नवदुलही स्वागत, सदस्य स्वास्थ्य सुरक्षण, गर्भवती पोषण, बालबालिका जन्मउत्सब, सहकारी शिक्षा शिविर, ऋण बिमा, पशु तथा बालीबिमा, आधुनिक प्रविधिको उच्चतम प्रयोग, स्वास्थ्य शिविर, विभिन्न सिपमूलक तालिम, सामूहिक कृषिमा लगानी लगायतका सदस्यमुखी कार्यक्रमहरु गर्दै आएको दाहालले बताए ।

कुल १६ हजार ७ सय ४९ जना शेयर सदस्य रहेके साकाेसले आ.ब. २०७९/८० को अन्त सम्ममा शेयर रकम १० करोड ९० लाख ५२ हजार १ सय रुपैंया पुर्याएको छ । त्यस्तै गरि बचत (निक्षेप) रकम ७७ करोड ३७ लाख ३० हजार ३ सय ७१ रुपैयाँ रहेको साकोसले जनाएको छ ।

हाल सम्म साकोसले ८५ करोड ७९ लाख १२ हजार ५ सय ७७ रुपैयाँ ऋण लगानी गरेको छ । शेयर तथा बचत लगानी रकम ७ करोड ११ लाख ४ हजार १५ रुपैयाँ कारोबार भएको र फर्निचर तथा जग्गा जमिन मा ३ करोड ९४ लाख ४४ हजार ७ सय ८५ रुपैयाँ कारोबार भएको सहकारीले बताएको छ ।

ज्योति मिर्मिरे साकोस आर्थिक रुपले जसरी पारदर्शीताका साथ काम गर्यो त्यस्तै गरि सहकारीले सामाजिक क्रीयाकलाप पनि गर्दै आएको छ । सहकारीले धर्म, सस्कृती र परम्परालाई जोगाइ राख्न नवदुलही स्वागत कार्यक्रम , शेयर सदस्य मृत्यु राहत, एकाघर परिवार मृत्यु राहत, स्वास्थ सुरक्षण सुबिधा, गर्भवती पोषण सहयोग, बालबालिका जन्म उत्सव कार्यक्रम सथै समुदायमा आधारित विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री गोपाल दाहालको सञ्चालन तथा संस्थाका अध्यक्ष श्री उद्धव सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहकारीमा विशेष योगदान गर्ने व्यक्तिहरुलाई प्रदान गर्ने गरि स्थापित जे एम एस सहकारी अवार्ड २०७९ बाट जिल्ला सहकारी संघ लि. काभ्रेका अध्यक्ष श्री दिलिप शर्मा ज्यू, यसै गरी संस्थामा आवद्ध भएका सदस्यहरु मध्ये विशिष्ट स्थानमा पुग्न सफल सदस्यलाई प्रदान गर्ने गरी स्थापित विशिष्ट सदस्य अवार्ड २०७९ बाट संस्थाका सदस्य एवं मानसिक अस्पतालका प्रमुख श्री डा.अनन्त अधिकारी ,उत्कृष्ट कर्मचारीमा रोशन वस्नेत लगायत संस्थाका उत्कृष्ट ऋणी, बचतकर्ता,बालबचतकर्ता सहित ३९ जना महानुभावहरुलाई सम्मान समेत गरिएको थियो ।

सभामा पनौती नगरपालिका उपप्रमुख गीता बञ्जारा, बागमती प्रदेश बचत तथा ऋण सहकारीका महासचिव जीवराज खड्का, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारीका सह सचिव विकास बादे, सहकारी अभियानका नेता कृष्णप्रसाद तिमल्सिना, वडा अध्यक्ष दीपक दाहाल, नेफस्कुनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा, सहकारी अभियान्ताहरु, विभिन्न सहकारीका संचालक तथा प्रमुख कार्यकारी अधिकृतहरु, विभिन्न संघ/संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

https://www.sahakarikhabar.com/jms-saccos/